दोधारा चादँनी नगरपालिका नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्ला मा पर्दछ । यो नगरपालिका नेपालको महाकाली नदी भन्दा पारी रहेका २ मात्र साविकका चाँदनी र दोधारा गा.वि.स. समावेश गरि स्थापना भएको हो । मिती २०७१ मंसिर १६ गते नेपाल सरकारको निर्णय अनुसार यस नगरपालिकाको नाम दोधारा चाँदनी नगरपालिका नामाकरण गरि १० वडा कायम गरिएको थियो । मिती २०७३ फाल्गुन २२ को निर्णय अनुसार नगरपालिकाको नाम परिवर्तन गरि माहाकाली नगरपालिका नामाकरण गरि १० वडा कायम गरिएको थियो ।नेपाल सरकार मिति २०७७।०९।१३ को राजपत्रमा प्रकाशित सुचना अनुसार माहाकाली नगरपालिकाको नाम परिवर्तन भई दोधारा चाँदनी नगरपालिका कायम भएको छ ।
यो नगरपालिका भौगोलिक हिसाबले ८० डिग्री ४ मिनेट देखि ८० डिग्री ०६ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तरसम्म र २८ डिग्री ४९ मिनेट देखि २८ डिग्री ५९ मिनेट उत्तरी अक्षांशसम्म फैलिएको छ । त्यसैगरी ५६.८४ वर्ग.कि.मी. क्षेत्रफलमा रहेको यस नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारत रहेको छ भने पूर्वमा भीमदत्त नगरपालिका र शुक्लाफाँट बन्यजन्तु आरक्ष रहेका छन् । दोधारा चादँनी नगरपालिकाको औषत अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस र न्युनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको पाईन्छ । यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी ११ वटा माध्यामिक विद्यालय र ३२ वटा आधाभूत विद्यालय गरी जम्मा ४३ वटा शिक्षण संस्थाहरु संचालित छन् ।